मेरो नाम मलाई मन पर्दैन ! (कविता)

Tansen Khabar -   admin || २०७७ असोज २७ मङ्गलबार

अरुले दिन्छन्

अरुले नै लिन्छन्

र अरुले नै चिन्छन्

खोइ कसरी भनूँ म

यो मेरो नाम हो

अथवा खोइ कसरी नभनूँ म

यो मेरो नाम होइन,

हुन पनि हो 

धेरैजसो यो धरापमा पर्छ

र बाँकी जसो सरापमा झर्छ

हो यहाँ नामले काम गर्दैन 

नामले छाक टर्दैन

र त मेरो नाम मलाई मन पर्दैन !


कर्मका कुरुक्षेत्रहरुमा कहिले

सिलौटामा कुटिएको थङ्थिलो अदुवाझैँ 

लथालिङ्ग हुन्छ नाम,

भाग्यका भँगालोहरुमा कहिले

बाजी हारेको बाह्रमासे जुवाडेको हुलियाझैँ 

भताभुङ्ग हुन्छ नाम

थाहा छैन नाम भनेको के हो ?

बेच्ने हो कि पाल्ने ?

कमाउने हो कि फाल्ने ?

अर्थ हो कि अनर्थ ? 

प्रिय हो कि व्यर्थ ?

हुन पनि हो 

सबैजसो नाम गहतको झोलमा पर्छ 

र बाँकी जसो गुन्द्रुकको मोलमा मर्छ 

हो यहाँ नामले काम गर्दैन

नामले छाक टर्दैन 

र त मेरो नाम मलाई मन पर्दैन !


न रोजेर पाएको हो यो 

न त खोजेर ल्याएको हो यो 

तैपनि थरिथरिका उपनाम र उपाधि गाँसेर पछारिन्छ कहिले

नानाभाँतिका विशेषण टाँसेर लछारिन्छ कहिले

थाहा छैन यो नामलाई

सुचालक मानूँ कि कुचालक ? 

गाली खाने ठानूँ कि ताली खाने ?

असल कि कमसल ?

सफल कि असफल ?

हुन पनि हो 

आन्दोलनबाट उम्केको घाइते स्वतन्त्रता सेनानीझैँ

मेरो नाम कहिले नजरबन्दमा पर्छ 

बाणैबाणको शैयामा उत्तरायण पर्खेका भीष्मपितामहझैँ

यो नाम कहिले बिलखबन्दमा मर्छ 

कहिले यथानाममा पर्छ

त कहिले तथानाममा झर्छ

हो यहाँ नामले काम गर्दैन 

नामले खाम झर्दैन

र त मेरो नाम मलाई मन पर्दैन !


अरुले दिन्छन्

अरुले नै लिन्छन्

र अरुले नै चिन्छन्

खोइ कसरी भनूँ म

यो मेरो नाम हो

अथवा खोइ कसरी नभनूँ म

यो मेरो नाम होइन,

हुन पनि हो 

धेरैजसो यो धरापमा पर्छ

र बाँकी जसो सरापमा झर्छ

हो यहाँ नामले काम गर्दैन 

नामले छाक टर्दैन

र त मेरो नाम मलाई मन पर्दैन !

००० ००


(कवि:- एस्पी कोइराला)


साभार: गरिमा, पूर्णाङ्क ३८७, माघ २०७३ पृष्ठ ४९

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
सम्पादक : बसन्त कुवंर
९८५७०६५९४०
तानसेन–५,पाल्पा
tansenkhabar@gmail.com
bashantakunwar1@gmail.com



सामाजिक संजाल